
विराटनगर— सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ ।
शहिद रंगशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर सिटी घरेलु मैदानमा उपाधि नजिक पुगेको हो ।
जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक तथा रोचक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो ।
जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाव परेको थियो ।
जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतको कारणले जित हासिल गरेको बताए । उनले पहिलो हाफसम्म खेलाडीले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको उल्लेख गरे ।
जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पटक–पटक पाएको अवसर खेर फाल्दा हार भएको बताए । खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए ।
उनले नगद रु ११ हजार पाए । मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुने प्रतियोगिताका व्यवस्थापक सरोज लम्सालले बताए ।
चैत्र १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता हुने टिमले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।