
पोखरा— पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रेस क्लब गण्डकीद्वारा ‘कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शीर्षकमा आज पोखरामा आयोजित अन्तरक्रियाका वक्ताहरूले सामूहिक प्रयास मार्फत् रंगमञ्चलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् ।
विश्व रंगमञ्च दिवसका अवसरमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजित कार्यक्रममा उनहरूले हालको रंगमञ्चलाई थप व्यवस्थित गर्दै नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न नाटक अध्ययनार्थ एकेडेमी आवश्यक भएको बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले पोखरामा सुविधायुक्त थिएटर आवश्यक रहेको बताउँदै त्यसका लागि सम्बद्ध सबैले पहल गर्नुपर्ने औँल्याए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य जसुमाया गुरुङ (जसु) ले पोखरामा भएका रंगमञ्चीय गतिविधि निरन्तर हुनुपर्ने आवश्यकता औँल्याइन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले नाट्य क्षेत्रसँग सम्बन्धित गतिविधिमा निरन्तर सघाउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुन आवश्यक रहेको बताउँदै पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने बताए ।
कार्यक्रममा मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले नाट्य क्षेत्रको विकासका लागि रंगमञ्चलाई व्यवस्थित गर्नु जरुरी रहेकामा जोड दिए ।