News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

असार १९ गते मंगलबार सामाजिक, आर्थिक, खेलकुद, स्वास्थ्य विषयमा समाचार मुद्यमुद्य बनेका छन् । सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने, नेपालले एसीसी यू—१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको, नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवम् सहकार्य गरी मोर्चा बनाउने, ललिता निवास प्रकरणमा सर्वोच्च अदालतबाट स्टेअर्डर लिएका १७ जनाविरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याकेट निवेदन, नेपाल बार एशोसिएशनको आन्दोलन, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय, रोपाइँ, राष्ट्रिय सभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल, पशुवस्तुमा देखिएको लम्की स्किन रोगका समाचार मुख्य मुख्य बने । यी बाहेक सोमबार प्रधानमन्त्री तथा विभिन्न नेताहरूको बोलीको पनि मुख्य समाचार बनेका छन् । 

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज मंगलबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

०००

निर्वाचनमा उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने र उनीहरुको सम्पत्ति ववरण गोप्य रहने व्यवस्था मस्यौदामा गरेको बताए ।

०००

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो । महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए ।

०००

अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले सरकारको आन्तरिक स्रोतले चालु खर्च धान्न समेत धौधौ परिरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिँदै उनले पेन्सन, सामाजिक सुरक्षा, निजामति/शिक्षक/सुरक्षाकर्मी/स्वास्थ्यकर्मीको तलब लगायतमा बर्सेनि दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौती बनेको बताए ।

०००

शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन् । उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए ।

०००

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो माग गरेकी हुन् ।

०००

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको बताए ।

०००

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

०००

नेपाली कांग्रेस सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद कार्कीले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए । सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपन गर्न नसकेको आरोप लगाए ।

०००

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले वैदेशिक ऋण लिएर उत्पादनशील क्षेत्रमा खर्च गर्न नसके मुलुक अफ्ठ्यारोमा पर्नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा.महतले विगतमा अन्तर्राष्ट्रिय दातृ निकायहबाट ऋण लिने तर उत्पादनशील क्षेत्रमा खर्च गर्न नसक्दा ऋणको दायित्व बढ्दै गएको भन्दै सरकारले वैदेशिक ऋण उत्पादनशील क्षेत्रमा खर्च गर्नु आवश्यक रहेको बताए ।

०००

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताए । ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:३०
Weather Update