काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सवारीसाधन भित्र्याउने सरदार प्रित सिंहका बारेमा लेखिएको पुस्तक ‘रोड्स टू भ्याली’ पुस्तकको सोमबार सार्वजनिक गरेका छन् । सिंहको ८८औँ जन्मदिनका अवसरमा सो पुस्तक सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको यातायात क्षेत्र र सवारीसाधन भित्र्याउन सिंहले खेलेको भूमिका लगायतका विषय समेटिएको सो पुस्तक विमोचन गरेका हुन् ।
सो पुस्तक सिंहको छोरी किरणदीप सिन्धुले लेखेकी हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सिंहको योगदान यातायात क्षेत्रमा मात्रै नभई सामाजिक सेवामा, शिक्षाको क्षेत्रमा पनि अतुलनीय रहेको बताए ।
नेपालमा रहेका शिख समुदायको संरक्षण र प्रवर्द्धनमा पनि उत्तिकै मेहनत गरेको भन्दै प्रधानमन्त्री दाहालले सिंहको योगदानको उच्च प्रशंसा गरे ।
उनले भने,‘राजनीति सफा भयो भने मात्रै देश विकास हुन्छ भन्ने धारणा राख्नुहुने उहाँलाई शान्ति प्रक्रियामा आएपछि नजिकबाट एक अर्कालाई चिन्ने बुझ्ने प्रयास गरेका थियौँ । मेरो परिवार नै उहाँको सहयोगप्रति नतमस्तक छ ।’
उनको जीवनमा आधारित उनकै छोरीले तयार पारेको यो पुस्तक नेपाल भारत सम्बन्धबारे बुझ्न थप सहयोगी बन्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
नेपालमा सार्वजनिक यातायात सुरु गर्ने उद्देश्यका साथ भारतको जम्मुबाट आएका शिख समुदायका प्रितम सिंहको योगदान अतुलनीय रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा व्यावसायिक यातायातको सुरुआत गर्ने महत्वपूर्ण व्यक्तिका बारेमा पुस्तक प्रकाशित भएकामा प्रसन्नता व्यक्त गरे ।
काठमाडौंमा रहेको मोर्डन इन्डियन स्कुल स्थापना गरी शिक्षाको क्षेत्रमा पनि उत्तिकै सहयोग गरेकामा राजदूत श्रीवास्तवले सिंहको योगदान अतुलनीय रहेको बताए ।