काठमाडौं— त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो संस्करणको प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गरेका हुन् । महर्जन जोडीले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र आर्मीका पविनलिनथेपको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । विधान र लिनथेपको जोडीले नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२,२१–१४ ले पराजित गरे ।
त्यस्तै एपीएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडीले पनि सेमिफाइनल यात्रा तय गरेको छ । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८,२१–१९ ले पराजित गर्दै सेमिफाइनलमा पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडीसँग भेट पक्का गरेको हो ।
जीवन र विष्णुको जोडीले आर्मीका देवराज राना र रोशन साउदको जोडीलाई २१–१५, २१–८ ले पराजित गर्दै दाहाल र थापा मगरको जोडीसँगको भेट पक्का गरेका हुन् ।