News Griha :: न्यूजगृह
क्रिकेटर दीपेन्द्र र फुटबलर वर्षा उत्कृष्ट वर्ष खेलाडी
फाइल तस्बिर ।

कैलाली— ‘सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन् ।

दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दीपेन्द्र गत वर्ष टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए ।

महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गत वर्ष नेपाललाई पहिलो पटक यू-१५ साफ च्याम्पियनसिपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । 

सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते । यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारे । 

सुदूरपश्चिम आइकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । शाहीले नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्ण पदक दिलाएका थिए । सुदूरपश्चिम आइकन महिला फुटबलकी दीपा रोकाया घोषित भइन् । दीपाको कप्तानीमा नेपालले गत वर्ष पहिलो पटक यू १५ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । भलिबलका प्रशिक्षक सहदेव विष्टलाई ‘लाइफ टाइम अचिभमेन्ट’ प्रदान गरियो ।    

कुस्तीका राजेन्द्र चन्द कराँतेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई जनही ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही २५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बर्सेनि सुदूरपश्चिम स्पोर्टस् अवार्डको आयोजना गर्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०९:४०
Weather Update