News Griha :: न्यूजगृह
ललितपुर मेयर कप महिला क्रिकेटः आयोजकविरुद्धको खेलमा मधेस विजयी

काठमाडौं— ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले आयोजक ललितपुर मेयर्सलाई १ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिइन् ।  

यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् ।

जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।

ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:५१
Weather Update