
असार १५ गते शुक्रबार कृषि, सुरक्षा अपराध, विपद्, राजनीतिका समाचार मुख्य मुख्य बने । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको विषय चर्चामा रह्यो । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा देशभर रोपाइँ भइरहेको र राजनीतिक दलका नेताहरूले रोपाइँ गरेको विषयमा पनि दिनभर पाठकको ध्यान आकर्षित गरायो । त्यसैगरी भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर र पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेको समाचार पनि मुख्य बन्यो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएर यात्रुलाई सास्ती भएको खबर पनि शुक्रबार मुख्य बनेको छ । यी बाहेक ललिता निवासको जग्गा हिनामिना प्रकरण, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तर प्रदेश मुख्यमन्त्री बैठकमा सहभागी भएको खबरले पनि प्राथमिकता पाए ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको जानकारी दिइन् ।
०००
उपसभामुख इन्दिरा रानाले पुरुषसरह संसदमा महिलाले समय नपाएको गुनासो गरेकी छिन् । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका प्रमुख सचेतकहरुले महिला सांसदहरुको समय कम गरेर दिने गरेको भन्दै उनले यस कार्यमा पार्टीबिरुद्ध आवाज उठाउन सक्नुपर्ने बताइन् ।
०००
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताएका छन् । उनले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गरे । उनले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताए ।
यो पनि पढ्नुहोस
०००
शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्र बलियो बनाउने काममा जुट्नुपर्ने आवश्यकता रहेको बताइन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र बलियो नभइकन आदिवासी जनजातीहरुको भावना र पहिचानलाई स्थपित गर्न नसकिने बताइन् ।
०००
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताए । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए ।
०००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने पनि बताए । उनले पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको बताए ।
०००
अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् । अन्योलताका बीचमा पनि आफूले जायज कुराहरुलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताए ।
०००
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन् । उनले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरुले उपचार पाउने बताए ।
०००
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छिन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन् । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताइन् ।
०००
युवा तथा खेलकुमन्त्री एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए ।
०००
व्यंग्य कवि शैलेन्द्र सिम्खडाले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार ललितपुरमा अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा दिएको सम्मान ग्रहण गर्दै उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठूलो कुरा भएको बताए ।
०००
‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
०००
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाइँमा सहभागी हुनु भएको छ । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोपेका हुन् । धान रोपाइँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन पुगेका थिए ।