News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वैशाखयता विपद्का घटनामा ९२ जनाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौंं— पानी परेसँगै मुलुकभर बाढी र पहिरोको जोखिम बढेको छ । यस वर्ष सरदरभन्दा कम पानी पर्ने बताइएको थियो । त्यहीअनुसार मनसुन ढिलो गरी प्रवेश गरे पनि केही दिनदेखि देशभरि वर्षा हुन थालेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको हो ।

मनसुनी वायुले विगत २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ५५ मिलिमिटर (मीमी) पानी परेको छ । पोखरामा ४६.३ मीमी, जनकपुर ३७.२ मीमी, दिपायलमा ३३.४ मीमी, धनगढीमा २८.५ मीमी, धनकुटामा २६.० मीमी, विराटनगरमाा २५.५ मीमी पानी परेको छ । काठमाडौंमा ४.७ मीमी पानी परेको छ भने सबैभन्दा कम नेपालगन्जमा १.५ मीमी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

२४ घण्टामा बाढीबाट झापामा एक जनाको मृत्यु र आगलागीबाट धादिङ र हुम्लामा गरी दुई जना घाइते भएका छन् । यसबाहेक विभिन्न जिल्लामा गरी सात स्थानमा पहिरो, चार स्थानमा आगलागी, एकमा बाढी र एक स्थानमा भारी वर्षा सम्बन्धी विपद्का घटना दर्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलले जनाएको छ । 

Prabhu Bank

तर, वैशाख १ देखि असार १४ सम्मको विपद्को तथ्याङ्क हेर्दा पहिरोमा परी १३ को मृत्यु, बाढीमा १०, चट्याङ् लागेर २०, हिमपहिरोमा १२ र आगलागीमा १५ जनाको मृत्यु भएको विपद् पोर्टलले जनाएको छ । 

कालिगण्डकी करिडोर 

वर्षाले अवरुद्ध बनेको अर्गली रानीमहलअन्तर्गत कालीगण्डकी करिडोर अझै खुलेको छैन । कालो लेदो भेल आएपछि सडक अवरुद्ध भएको पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले न्यूजगृहलाई जानकारी दिइन् । उनले भनिन्, ‘अर्गलीतर्फको सडकखण्ड आज पनि खुल्न सक्ने अवस्था छैन । कालो लेदोको भेल आइ नै रहेको छ ।’ 

kaligandakicorridor1688127602.jpg

स्याटलाइट इमेजबाट पनि उक्त सडकमा ठूलो पहिरो गएको देख्न सकिन्छ । सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । बिहीबार राति गएको पहिरोले बिहानदेखि सडक अवरुद्ध बनाएको हो । करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । सो सडक खुलाउन सडक विभाग, प्रहरी र स्थानीय परिचालन भइरहेको छ । 

सिद्धार्थ राजमार्ग

यता सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् । तर, पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि अवरुद्ध भएको सडक भने मध्याह्न १२ बजेपछि नै खुलेको सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिइन् । यस्तै, तानसेनको लाकुरेमा लेदो भेल आएर अवरुद्ध भएको सडक शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । 

नारायणगढ–मुग्लिन सडकखण्ड

यसैगरी, बर्सेनि पहिरो गएर सडक अवरुद्ध हुने नारायणगढ–मुग्लिन सडक खण्ड बिहीबार दिउँसोदेखि खुल्न सकेको छैन । पहिरो खसेपछि अवरुद्ध बनेको सो सडकमा शुक्रबार अपराह्नसम्म पनि पहिरो पन्छाउन नसकिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिए । उनले भने, ‘पहिरो पन्छाउने क्रम जारी छ । माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले कठिन भएको हो । अब आज साँझ खुल्छ कि भन्ने आस छ ।’ सो सडक नखुल्दा सवारीसाधन बीचमै लामबद्ध अवस्थामा छन् भने यात्रुहरूले दुःख पाएका छन् । 

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको थियो । शुक्रबार बिहान पनि सुक्खा पहिरो खस्ने क्रम जारी थियो । पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

राजमार्ग र अन्य सडकहरूमा ठाउँठाउँमा पहिरो जान थालेपछि यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । 

सतर्क रहन आग्रह 

यता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईका विभिन्न स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले  सर्तक रहन आग्रह गरेको छ ।

हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने महाशाखाको भनाइ छ । महाशाखाले भारी वर्षाका कारण खोलाखोल्सी, नदीको बहाव बढ्ने र बाढीपहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:०९
Weather Update