
असार १४ गते बिहीबार सार्वजनिक बिदा परेको हुँदा गतिविधिहरू कम भए । बिहीबार सामाजिक तथा धर्मसंस्कृतिका समाचार नै मुख्य बने । असारको महिना भएको हुँदा किसानहरूलाई रोपाइँको चटारो भएको र देशव्यापी रूपमा पशुमा देखिएकाे लम्पी स्किन रोगसम्बन्धी समाचारले पनि प्राथमिकता पाएको छ । त्यसैगरी कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेको विषय पनि बिहीबार मुख्य समाचार बनेको छ । आज हरिशयनी एकादशी पर्व घरघरमा तुलसी सारेर र देशभरका भगवान् विष्णुका मन्दिरमा दर्शन गरेर मनाइएको छ । बिहीबार मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) पनि मुख्य समाचार बनेको छ । यी बाहेक नेताका अभिव्यक्तिहरू प्रमुख समाचार बनेका छन् ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बिहीबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा भई नसकेको बताएकी छिन् । बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् । राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भए पनि नेपाली क्रान्ति सम्पन्न नभएको उनको भनाइ थियो ।
०००
सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ । बिहीबारबाट सुरु भएको दोस्रो विपद् जोखिम न्युनिकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा सेअर गर्ने लगायतका कार्यहरु रोक्न जरुरी रहेको बताए ।
यो पनि पढ्नुहोस
०००
नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरुको लहर चलेको बताए । बिहीबार मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताए । फरक प्रसंगमा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए । गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको उनको भनाइ छ ।
०००
कृषि विज्ञहरुले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । बुधबार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रुपमा क्रान्ति गरेको बताए ।
०००
नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड सुरु हुँदैछ ।
०००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए । उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्त्वपूर्ण हुँदै गएको बताए । उनले चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताए ।
०००
एक महिनादेखि काठमाडौंमा आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले माग पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । सरकारसँग वार्ता गरिरहेको परिषद्ले सरकार पक्ष माग पूरा गर्न गम्भीर नबन्दा जारी आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । परिषद्ले देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई रिले अनशन थप प्रभावकारी बनाउन प्रत्येक जिल्लाबाट प्रत्येक दिन १०/१० जना कर्मचारीलाई माइतीघरमा उपस्थित गर्न व्यवस्था मिलाउन पत्रचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार १ गतेको पत्र अनुसार वार्ता समिति गठन भई असार २ गते बसेको पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधिले थप समय माग गरेपछि फेरि वार्ता बस्ने निर्णय भएको थियो । माग पूरा गराउन दबाब दिन आन्दोलनको विकल्पन नभएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । उनले यस क्रममा आन्दोलनका कार्यक्रम पनि जारी र वार्तालाई पनि निरन्तरता दिने बताए ।