
काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
तेस्रो प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन समारोहमा उनले खेल क्षेत्रमा राजनीतिकरण गर्न नुहने भन्दै खेलाडीहरूको विकास गर्नको लागि व्यक्तिगत स्वार्थ र दलीय विचारलाई तल राखेर अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘यो खेल क्षेत्रमा राजनीतिकरण नगरिकन समग्र खेलाडीहरूको वृद्धि विकासका लागि खेलाडीहरूलाई वातावरण दिएर अगाडि बढाउनको लागि व्यक्तिगत स्वार्थ र हाम्रो दलीय विचारहरूलाई तल राखेर हामी अगाडि बढ्न सक्ने अवस्थाको निमार्ण गर्नुपर्छ ।’
मन्त्री लिम्बूले देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नको लागि युवाहरूको खेलमा मात्रै होइन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सशक्त उपस्थिति हुनु आवश्यक भएको बताए ।
उनले भने, ‘खेल प्रवर्द्धनको लागि मन्त्रालयले विद्यालय स्तरमा गएर खेल शिक्षा दिएर बजेट पनि छुट्टाएको अवस्था छ । युवा खेलमा मात्रै होइन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सशक्त उपस्थिति हुनु आवश्यक छ त्यसो भयो भने मात्रै हो देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य हुन सक्छ ।’
यस्तै, उनले खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोड्न सके आर्थिक गतिविधि बढ्दै जाने र देशको अर्थतन्त्र सुदृढ हुनसक्ने बताए ।
उनले भने, ‘यो खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडेर सक्यौ भने आर्थिक गतिविधि हुन्छ, आर्थिक गतिविधि बढ्दै गयो भने देशको अर्थतन्त्र सुदृढ हुन सक्छ । त्यसकारण हामीले खेल्नका लागि खेल मात्रै होइन यसलाई पर्यटन क्षेत्रसँग जोडेर विभिन्न मुलुकबाट मानिसहरू आउने वातावरण निमार्ण गर्न खेललाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नु पर्छ ।’
उनले खेल क्षेत्रको विकासको लागि निजी क्षेत्रहरूको पनि भूमिका आवश्यक भएको हुदाँ निजी क्षेत्रहरूलाई पनि स्थान दिएर अगाडि बढ्नुपर्ने बताए ।