
काठमाडौं— नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा भइरहेको छ । हिन्दी भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ ।
पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक सुरज पाण्डेले भने,‘हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय दर्शकलाई समेत लक्षित गर्दै प्रदर्शनको तयारी गरेका छौँ । यसले आगामी दिनमा यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न मार्ग प्रशस्त हुने विश्वास छ ।’
अभिनेत्री शिल्पा मास्केले आफ्नो कलाकारिता यात्रालाई नयाँ लयमा हिँडाउने बताइन् ।
त्यसैगरी दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने जानकारी दिइन् । ‘हामीले नेपालमा नेपाली भाषा र अन्य देशमा हिन्दी भाषामा समेत प्रदर्शन गर्दैछौँ’,उनले भनिन् ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथामा निर्माण भएको चलचित्रमा कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।