News Griha :: न्यूजगृह
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार अन्तिम साता

काठमाडौं— नेपाल भलिबल संघको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।

नेपाल भलिबल संघले वार्षिक कार्यक्रमअनुसार उक्त प्रतियोगिता आगामी असार २३ देखि ३० गतेसम्म आयोजना गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब काठमाडौं, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ र सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप गरी आठ टोलीको सहभागिता रहनेछ ।

त्यसैगरी, महिलामा नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोतिगामा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब ७५ लाख खर्च लाग्ने आयोजनले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २२:०१
Weather Update