News Griha :: न्यूजगृह
सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार २३ गतेदेखि

काठमाडौं— सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता यही असार २३ गतेदेखि सुरु हुने भएको छ । 

नेपाल भलिबल सङ्घ एनभीएले सोमबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री कप क्लब लिग भलिबलको सातौँ संस्करणको खेल असार २३ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । 

सातौँ संस्करणदेखि प्रधानमन्त्रीको नाममा जोडेर अबदेखि प्रधानमन्त्री कप एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगको नाममा खेल सञ्चालन गर्ने निर्णय भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए । उनले भने, ‘हामीले राम्रो काम गरेको हुनाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबललाई प्रधानमन्त्रीको नाम जोडेर हरेक वर्ष यसलाई सञ्चालन गर्नु भनेर राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गरेको छ । यो हाम्रो लागि ठूलो गुन लगाएको हो परिषद्ले ।’

यसअघि एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगको रूपमा आयोजना हुँदै आएको भलिबल खेलमा प्रधानमन्त्री कप थपिएर सातौँ संस्करण आयोजना गर्न लागिएको हो । ठूलो धन राशिको पुरस्कार भएको प्रतियोगिता आयोजना गर्न सङ्घलाई निकै कठिन भएको अवस्थामा राज्यबाट प्राप्त यो सहयोगले भलिबल खेलको विकासमा निकै सहयोग पुग्ने अपेक्षा गरेको सङ्घका अध्यक्ष चन्दले बताए । 

प्रतियोगितामा सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडांै, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लव रामेछाप गरी ८ क्लबहरू र महिलातर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब, बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टिम गरी १४ टिम रहेका छन् । 

तर, नेपालको एक टोली थपिएर १५ टिम प्रतियोगितामा समावेश हुनसक्ने बलियो सम्भावना रहेको आयोजकको भनाइ छ । 

प्रतियोगितामा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थानमा विजयी हुने टिमले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५ हजार प्राप्त गर्ने छन् । 

प्रतियोगितको कुल अनुमानित खर्च ७५ लाख अनुमान गरेकोमा राष्ट्रिय खेलकुद परिषद्ले संघलाई ४० लाख मुख्य प्रायोजकको रूपमा दिने आयोजकले जानकारी दिए । बाँकी रकम सङ्घले विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी खर्च व्यवस्थापन गर्ने संघका अध्यक्ष चन्दले बताए । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:३४
Weather Update