News Griha :: न्यूजगृह
सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुदमन्त्री लिम्बू

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् । उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ । 

‘धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रंगशालाको निर्माण कार्य अधुरो छ । अत्यन्त जटिल समस्याग्रस्त छ । यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भने, ‘यसको निमित्त शीर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ । सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रंगशालालाई सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढीरहेको कुरा म अनुरोध गर्न चाहन्छु ।’

उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए । त्यस्तै खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको जानकारी दिए । मन्त्री लिम्बूले खेलकुद बीमाको नीति तयार गर्न प्रक्रिया अगाडि बढेको पनि उल्लेख गरे । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:४१
Weather Update