
काठमाडौं— जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले वर्ष २०७९ को ‘धर्मराज सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार’ र ‘धर्मराज सावित्री थापा लोक गीतसङ्गीत पुरस्कार’ घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा शनिबार बसको बैठकले पुरस्कार कवि थापाको जन्मजयन्तीको सन्दर्भ पारेर साउन १ गते प्रदान गर्ने निर्णय गरेको छ ।
संस्कृतिविद्/साहित्यकार तेजेश्वरबाबु ग्वङ्गः लाई ५० हजार नगद राशिसहित ‘धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार’ र लोकगायक बमबहादुर कार्की तथा लोकगायिका शिला आलेलाई २५ हजार नगद राशि तथा सम्मानपत्रसहित ‘धर्मराज सावित्री थापा लोक गीतसङ्गीत पुरस्कार’ मार्फत पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए ।
उनले भने,‘हामीले लोक संस्कृति साहित्य र सङ्गीतलाई समेटेर पुरस्कार प्रदान गर्ने गरेका छौँ । समयानुकूल परिवर्तन पनि गरिरहेका छौँ ।’ वि.सं.२०५२ मा स्थापित यस प्रतिष्ठानले वि.सं. २०७१ सम्म धर्मराज–सावित्री थापा लोक वाङ्गमय पुरस्कार प्रदान गर्ने गर्दथ्यो ।
त्यसपछिका वर्षहरूमा लोक संस्कृति साहित्य र सङ्गीत गरी दुई विधामा पुरस्कार प्रदान गर्न थालेको हो । वि.सं. १९८१ मा जन्मिएका जनकवि थापाको वि.सं. २०७१ मा निधन भएको थियो ।