
काठमाडौं— नेपाल आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएको छ ।
जिम्बावेको हरारेमा भएको निर्णायक खेलमा नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि विश्वकप खेल्ने नेपालको सम्भावना सकिएको हो ।
जितका लागि नेपालले दिएको १६८ रनको विजयी लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डोउडले अर्धशतकीय पारी खेल्दै ७५ बलमा ९० रनको योगदान दिए । उनी गुल्सन झाको बलमा क्याच आउट भए । विक्रमजित सिंहले ४३ बलमा ३० रन बनाए । वेस्ली बरेसी भने ४ बलमा ३ रन बनाएर आउट भएका थिए । बस दि लीडले नट आउट ४१ रन र तेजा निदमनुरुले २ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुल्सन झाले १ विकेट लिए ।
प्रतियोगिताभरमै खराब ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा पूरै विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३३ रनको योगदान दिए । सन्दीप लामिछानेले ३३ बलमा २७ रन, ओपनर कुशल भुर्तेलले ४२ बलमा २७ रन बनाए । अर्का ओपनर आसिफ शेख भने २ बलमा ० रनमै आउट भए । यस्तै, भीम सार्कीले ५६ बलमा २२ रन, गुलसन झाले ३१ बलमा १५ रन, दिपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन, कुशल मल्ले १९ बलमा १२ रन र आरिफ शेखले ४ बलमा ६ रन बनाए ।
नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ४, विक्रमजित सिंह र बस दि लीडले समान २–२ तथा क्लेटन फ्लोइड र आर्यन दत्तले समान १–१ विकेट लिए ।
विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको नेपाल जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भयो ।