
काठमाडौं— आईसीसी विश्वकप छनोट खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको विजयी लक्ष्य दिएको छ ।
प्रतियोगिताभरमै खराब ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो ।
सम्हालिएको ब्याटिङ गरेका सन्दीप लामिछानेले ३३ बलमा २७ रन बनाए ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३३ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २७ रन बनाए । अर्का ओपनर आसिफ शेख भने २ बलमा ० रनमै आउट भए । यस्तै, भीम सार्कीले ५६ बलमा २२ रन, गुलसन झाले ३१ बलमा १५ रन, दिपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन, कुशल मल्ले १९ बलमा १२ रन र आरिफ शेखले ४ बलमा ६ रन बनाए ।
नेदरल्यान्ड्सका बलरसामु सुरुदेखि नै दबाबमा परेका नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । नेपालले तेस्रो ओभरको दास्रो बलमै पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको थियो । त्यसपछि विकेट जाने क्रम रोकिएन ।
नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ४, विक्रमजित सिंह र बस दि लीडले समान २–२ तथा क्लेटन फ्लोइड र आर्यन दत्तले समान १–१ विकेट लिए ।
टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको थियाे । नेदरल्यान्ड्सले अब जवाफी ब्याटिङ गर्नेछ ।
आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराएमा नेदरल्यान्ड्स औपचारिक रूपमा सुपर सिक्समा पुग्नेछ ।
दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।
हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडीआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।