News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड भन्छन्– कला अनुरागी हुँ, राजनीतिले गर्दा त्यता ध्यान दिन पाइन 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कविता र साहित्यको अनुरागी भएको बताएका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले साहित्यप्रति तीव्र अभिरुचि हुँदाहुँदै पनि राजनीतिको चपेटाले ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद नभएको बताएका हुन् । 

उनले भने, ‘म पनि कविता, साहित्य, कलाको अनुरागी हुँ । मलाई साहित्यप्रति तीव्र अभिरुचि त छ । तर, राजनीतिको चपेटाले मलाई कहिले पनि त्यतापट्टी ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद दिएन ।’

उनले प्रज्ञा प्रतिष्ठानको वर्तमान नयाँ नेतृत्वको तर्फबाट सरकारसमक्ष आएका प्रस्तावहरूप्रति सरकार सकारात्मक रहेको बताए । साथै प्रतिष्ठानलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता समेत जनाए । 

प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संथागत गर्न सांस्कृतिक रूपान्तरणको अभियान अगाडि बढाउन जरुरी रहेको टिप्पणी गरे । 

नेपाली समाजमा जरा गाडेर बसेको सामन्तवाद संस्कृति र आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संगीत समानुपातिक, गणतान्त्रिक युग अनुरूपको संस्कृति निर्माण गर्नु आजको प्रमुख दायित्व भएको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १३:३३
Weather Update