
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोटमा शनिबार नेपालले आफ्नो निर्णायक खेल नेदरल्याण्ड्ससँग खेल्दैछ ।
तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ। नेपाल र नेदरल्याण्ड्सको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्याण्ड्सबीच पहिलो पटक खेल हुन लागेको हो । एकदिवसीय अन्तराष्ट्रियमा भने नेपाल र नेदरल्याण्ड्सबीच २ ओडीआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्याण्ड्स विजयी भएको थियो।
बिहीबार भएको खेलमा नेपाल पूर्व विश्व विजेता वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भयो । नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित हुँदा अमेरिकालाई ६ विकेटले हराएको थियो।
छनोटको समुह ए मा नेपाल ३ खेलमध्ये १ जित र २ हार सहित २ अङ्कका साथ चौथो स्थानमा छ। १ खेल कम खेलेको नेदरल्याण्ड्सको पनि २ अङ्क छ। नेपाल र नेदरल्याण्ड्स दुवैले अमेरिकालाई हराउँदा जिम्बावेसँग हार व्यहोरेका थिए। यो समूहबाट अमेरिका १ खेलअघि नै बाहिरिसक्दा अब सुपर सिक्समा जाने १ स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीच नै प्रतिस्पर्धा छ।
नेदरल्याण्ड्सविरुद्ध विजयी भएको खण्डमा नेपालको सम्भावना बलियो बन्ने छ। तर अन्तिम खेलमा नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग हार्नु पर्ने हुन्छ।