News Griha :: न्यूजगृह
दिनभरीका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्यमुख्य घटनाक्रम सहित उपस्थित भएका छौँ- 

असार ८ गते शुक्रबार राजनीतिक, आर्थिक, सामाजिक, पर्यटनका समाचार नै प्रमुख बने । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधका विभिन्न प्रश्नको उत्तर दिए । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा करका दर हेरफेरको विषयमा उठेका प्रश्नहरूको जवाफ सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन् । त्यसैगरी प्रहरीले अवैध लागुऔषध कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ सरकार बनाउन लागेको दाबी गरे । संक्षेपमा शुक्रबार दिनभरका समाचार यस्ता छन् :

नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौं उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागुऔषध कारोबार गर्ने पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

००००

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले ‘नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु’ जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए ।

००००

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका देखाएर व्यापार गरी आफ्नो स्वार्थपूर्ति गर्ने बालगृहको नियमन हुने बताएको छ । शुक्रबार काठमाडौंमा आयोजित कर्णाली प्रदेश र हुम्ला जिल्लाका बालबालिकाको पारिवारिक बिछोड,विस्थापन र ओसारपसार सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले यस्तो बताएका हुन् । उनले राष्ट्रिय बाल अधिकार परिषद् एक्कलैले सम्पूर्ण जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै संघ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेको बताए । 

००००

प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आए पनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताए । उनले सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको जिकिर गरे ।

००००

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ । शुक्रबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो । सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखिएको नीति, योजना तथा अनुगमन महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।

००००

पोखरामा शुक्रबारबाट ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सहआयोजना यो उत्सव सुरु गरिएको हो । उत्सव  शनिबारसम्म फेवातालमा हुनेछ ।

००००

नेपाली कांग्रेसका सांसद  रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् । सांसद खतिवडाले पहाडी जिल्लामा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा बृत् रुपमा पहिरो जानेक्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताएका हुन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले डोजर ड्राईभर आफैं इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेर गएकाले त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताए ।

००००

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको भनाइ थियो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गरे ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।  सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको बुझाइ थियो । शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरुले औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारिन् ।

००००

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र  पौडेलले विद्यालय कर्मचारीका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकसँग विगतमा गरिएका सहमतिको कार्यान्वयनमा सरकारले ढिलाइ गर्न नहुने उनको तर्क थियो । शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले सरकारले दुईपटक आफैंले गरेको प्रतिबद्धता अनुसार विद्यालय कर्मचारीका समस्या समाधान नगरेको भन्दै आपत्ति जनाए ।विद्यालयका कर्मचारीले लेखापाल र कार्यालयका सहयोगीको सेवासुविधा खरदार सरह पुर्‍याउन माग गर्दै आइरहेका छन् । सांसद पौडेलले उनीहरूको सो माग सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

यो पनि पढ्नुहोस

फुटपाथमा अवरोध हटाउने नाममा घरभित्रको सामान झिक्ने अधिकार महानगरलाई कसले दियो ?

हुलाक टिकट जस्तै देखिने २ करोड मूल्यको एलएसडी ड्रग्स, कसरी ल्याइयो नेपाल ? 

१३ सांसदको प्रश्न : प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी, तत्कालीन प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर

अर्थमन्त्री भन्छन्–करको दर हेरफेर गर्दा कसैको मुख हेरेको छैन

 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २०:४७
Weather Update