News Griha :: न्यूजगृह

काठमाडौं— प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न मितिमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्‍यो  ।

पक्राउ परेका ५ जना कमैले नाम सुनेको हार्ड ड्रग्स, लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) कारोबारमा संलग्नसमेत छन् । कारोबारीको साथबाट प्रहरीले ठूलो परिणाममा एलएसडी ड्रग्स बरामद गरेको छ । उनीहरूको साथबाट १० हजार १३० पिस एलएसडी लागूऔषध बरामद भएको ब्युरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार प्रहरीले असार ५ गते ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । उनको बयानपछि ब्युरोको टोलीले ठमेलबाटै मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र विराटनगरका बच्चन भनिने राज गौतमलाई पक्राउ गरेको हो ।

निकै महँगो पर्ने र स्टिकरका रुपमा बिक्रीवितरण हुने एलएसडी ड्रग्स नेपालमा खासै प्रयोग भएको पाइन्न् । प्रहरीका अनुसार एउटा पिसको २ हजारदेखि ५ हजार रुपैयाँसम्म गर्छ । 

यसरी पक्राउ पर्‍यो  गिरोह
काठमाडौंको बुढानीलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजीमा जुटेको हो । ठमेलबाट पक्राउ परेका सुगमलाई प्रयोग गरेर प्रहरीले मुखियालाई पक्राउ गरेको हो । गुरुङ यसअघि पनि लागूऔषध मुद्दामा दुई वर्ष बढी जेल बसेर छुटेका हुन् । २०७५ सालमा प्रहरीले गुरुङलाई कोकिनसहित पक्राउ गरेको थियो । 

गुरुङकै माध्यमबाट प्रहरीले गौतमलाई पक्राउ गरेको हो । एलएसडी नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको प्रहरीले बताएको छ । गौतम नेपालका विभिन्न स्थानमा ट्रान्सपार्टी आयोजना गर्ने र त्यहाँ एलएसडी ड्रग पुर्‍याउने  प्रमुख सदस्य हुन् । गौतमसँगै पक्राउ परेकी चेक नागरिक मार्टिनाको साथबाट २६ थान स्टिकर र मेथामफेन्टामाइन ४ सय मिलिग्राम बरामद भएको थियो । उनीहरूकै माध्यमबाट एलएसडी नेपाल भित्र्याउने इटालीका डेभिड पक्राउ परेका हुन् ।

डेभिडयो बस्दै आएको ठमेलस्थित होटल कोठाबाट १० हजार ९८ थान एलएसडी, ३८ ग्राम मेथामफेन्टामाइन, १ लाख ३९ हजार भारतीय रुपैयाँ, ७ सय युरो बरामद भएको थियो । उनी भारत हुँदै नेपाल भित्रिएको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, बरामद एलएसडी ड्रग पनि भारतबाट स्थलमार्ग हुँदै नेपाल ल्याइएको हो । प्रहरीले थप कनेक्सनबारे अनुसन्धान गरिरहेको छ  । 

एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) कडा खालको ड्रग हो । प्रयोगकर्तामा यसको गम्भीर असर पर्ने जानकार बताउँछन्। एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । यो झट्ट हेर्दा हुलाकको टिकट जस्तो पनि देखिन्छ । बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १५:०७
Weather Update