
काठमाडौं— असार ७ गते बिहीबारदेखि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । महानगर प्रहरीले घरभित्रको बरन्डामा राखेको ठेलागाडा निकालेको दृश्य ।
भिडिओमा महानगर प्रहरी बिहीबार कोटेश्वरको एउटा भुँइतले भवनभित्र प्रवेश गर्न खोज्छन् । एन.अधिकारी लेखेको पुरुष नगरप्रहरी एउटा फलामको ढोकाअगाडि रोकिन्छन् । त्यहाँ दुई जना महिला र दुई जना पुरुष उभिएका हुन्छन् । नगरप्रहरी अधिकारीले ‘त्यो गाडा कसको’ भनी सोध्छन् र ती महिलाहरूले ‘मान्छे गाउँ गएको छ’ भन्दै जवाफ दिन्छन् । उनी फेरि सोध्छन्, ‘यो गाडा कसको हो ? उनीहरू फेरि त्यही कुरा दोहो¥याउँछन्, ‘मान्छे छैन, गाउँ गएको छ ।’
ती नगरप्रहरी अधिकारी ‘ओइ खोल यो सब’ भन्दै फलामे ढोकासँगै चामलको बोराले पर्दा लगाएको उघार्छन् र घरभित्र प्रवेश गर्छन् । त्यसबेला नेपथ्यबाट आवाज सुनिन्छ, ‘मान्छे गाउँ गा’छ हजुर ।’ तर, उनी अगाडि बढ्छन् र पहिलो छोपिएको ठेलागाडाको प्लास्टिक फ्याक्छन् । त्यसमा प्लास्टिकको तरकारी राखिने भाडा बाहेक केही हुन्न ।
नगरप्रहरी अधिकारीको पछि–पछि महिला नगरप्रहरी घरभित्र प्रवेश गर्छिन् । त्यतिबेला पनि ती महिला सो मान्छे गाउँ गएको कुरा चर्को स्वरमा दोहो¥याइरहन्छिन् । तर, नगरप्रहरीहरू रोकिन्नन् । उनीहरूले ठेलागाडा तान्दै बाहिर ल्याउन सुरु गर्छन् । दोस्रो गाडा तान्न अर्की महिला नगरप्रहरी पुग्छिन् । त्यतिबेला फेरि अघिदेखि गाउँ गएको जानकारी दिने महिला बोल्छिन्, ‘मान्छेहरू यहाँ छैन ।’ तर, नगरप्रहरी पुन भित्र प्रवेश गर्छन् र बरण्डामा प्लास्टिककले छोपेर राखेको ठेलागाडा बाहिर ल्याउँछन् ।
यसरी क्रमश तीनवटै ठेलागाडा बाहिर ल्याइ गल्ली हुँदै बाहिर पिच सडकमा राखिएको महानगरको गाडीसम्म उनीहरूले पु¥याउँछन् । महानगरको गाडी ठेलागाडाले पहिले नै भरिसकेको छ । तर, त्यसमा उनीहरूले ल्याएको गाडा राख्ने र मूल सडकबाटै ल्याइएको अर्को गाडा पनि राख्ने सुरसार गरेको भिडिओमा देखिन्छ ।
काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर बनेसँगै फुटपाथ व्यापारी हटाउन निर्मम तरिकाले काम सुरु गरेका छन् । सुरुमा मूल सडकपेटी (फुटपाथ)मा व्यापार गर्नेलाई हटाए पनि पछिल्लो समयदेखि भित्री गल्लीमा ठेलागाडा व्यापार गर्ने व्यापारीलाई समेत महानगरले लखेटी–लखेटी ठेला जफत गर्ने गरेको दृश्य सामान्य हुन थालेको थियो । तर, बिहीबार अझ एक कदम माथि बढ्दै महानगरले घरभित्रै राखिएको ठेलागाडा व्यापारीको अनुपस्थितिमा जफत गरेको छ ।
यो पनि पढ्नुहोस
महानगरले फुटपाथमा अनधिकृतमा राखेको नभइ कसैको घरभित्रै राखिएको ठेला बलजफ्ती झिक्नु कतिको जायज छ ? यसबारेमा महानगरका प्रवक्ता नवीन मानान्धरसँग सोध्दा उनले सो घटनाबारे जानकारी नभएको बताए । उनले भने, ‘महानगरले पसलभन्दा बाहिर १ फिटसम्म सामान राखेर व्यापार गर्नेको सामान खोसिएको हो । घरभित्र गएर जफत गर्ने भन्ने होइन ।’
उनले महानगर प्रहरीले गल्ती गरेमा अनुसन्धान गरेर कारबाही गरिने बताए । उनले भने, ‘तपाईंले भन्नुभएको कुराको ध्यानाकर्षण गरेका छौँ । के हो बुझेर कारबाही अघि बढाउँछौँ ।’ सो घटनाबारे महानगर प्रहरी बलको नेतृत्व गरिरहेका एसपी राजु पाण्डेसँग जानकारी लिन खोज्दा उनले सुरुमा खाना खान लागेको र पछि आधि घण्टामा फोन गर्नुस् भने । त्यसपछि उनी सम्पर्कमा नै आएनन् ।
यता महानगर प्रहरीले फुटपाथ व्यापारी नियन्त्रणको नाममा गुण्डागर्दी शैलीमा घरभित्रैको सामान जफत गरेको भन्दै सामाजिक सञ्जालमा मेयर शाहको विरोध भएको छ । माइक्रोब्लगिङ साइट ट्वीटरमा सो भिडिओ साझा गर्दै अमृत अर्याल लेख्छन्, ‘बालेन सेनाको दादागिरी ! मान्छे नभएको घरभित्र छिरेर यसरी ठेलागाडा लग्नु लुटपाट हो ।’
यस्तै, नन भन्ने अर्का प्रयोगकर्ता मेयर शाहलाई ट्याग गर्दै लेख्छन्, ‘तिम्रा राक्षसी फौजले हद नाघे । सडकबाट ठेला हटाउदासम्म समर्थन गरेकै हो । नियम पालना गराउन क्रुर बन्नुपर्छ भनेर । घरभित्र पसेर सामान थुत्नु गुण्डाराज हो । यो कुनै नियम कानुन पालना गराउने तरिका होइन । जनसमर्थनले मात्तिएर बेलुन नबन्नु !’
फुटपाथमा अवरोध हटाउन महानगर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ९७, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ र काठमाडौं महानगरपालिकाको विषय सम्बद्ध कानुन बमोजिम हदैसम्मको सजाय गरिने भन्दै फुटपाथ व्यापारीसमक्ष निर्मम ढंगले प्रस्तुत भइरहेको छ । तर, फुटपाथमा भइरहेको अवरोध हटाउने नाममा घरभित्रको सामान झिक्ने अधिकार महानगरलाई कुन कानुनले दियो ? त्यसको जवाफ महानगरले दिनै पर्छ ।