News Griha :: न्यूजगृह
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

पोखरा— पोखरामा शुक्रबारबाट ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सहआयोजना ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो । फेस्टिभल शुक्रबार र शनिबार दुई दिन फेवातालमा हुने छ ।

चीर निन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्ष अघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ ।ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् भने ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् ।

पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदैछन् । नेपाल र्‍याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् ।

तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुनेछ । सहभागी आठवटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:४१
Weather Update