
काठमाडौं — आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिजले ३४० रनको विशाल लक्ष्य दिएको छ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो। नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। यस्तै करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिन सफल भए। वेस्ट इन्डिजका लागि साइ होप र निकोलास पूरनले उत्कृष्ट ब्याटिङ गदै शतकीय पारी खेले ।
होप र पूरनबीच चौथो विकेटका लागि २१६ रनको विशाल साझेदारी भएको थियो। प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको हो। पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ।
समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन्। नेपालले अन्तिम खेल २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ।