News Griha :: न्यूजगृह
चलचित्रको सफलतामा गीतसंगीतको भूमिकाबारे के भन्छन् संगीतकारहरू ? 

काठमाडौं— नेपाली चलचित्र सफल हुनुको एउटा महत्त्वपूर्ण कारण गीतसंगीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसंगीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीतसंगीत लोकप्रिय हुने गरेको छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसंगीत झैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीतसंगीतमा उलेख्य लगानी भएको पाइँदैन । भिडियोमा बढी लगानी गर्दा गीतसंगीतस्तरमा कमी आएको संगीतकार अर्जुन पोखरेल स्वीकार गर्छन् ।

‘चलचित्रमा हुने गीतसंगीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन,’ उनले भने । स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतसंगीत नै भएको पोखरेलको भनाइ छ । चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए ।

‘काममा बजेटले असर गर्छ । हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ’, उनले भने, ‘केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठिकठाक गरौँ भन्ने पनि हुनुहुन्छ । उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौँ ।’

संगीतकार शम्भुजित बाँस्कोटा गीतसंगीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन् । ‘पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो । त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्’, उनले भने ।

प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रदर्शन भइरहेको छ । यसको गीतसंगीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ ।

घरेलु बजारसँगै विदेशमासमेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसंगीतकाे भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए । ‘हामीप्रति दर्शकको विश्वास छ । साथै गीतसंगीतले समेत सामाजिक सञ्जाल मार्फत् प्रचारमा सघाएको छ’, उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २२:०२
Weather Update