News Griha :: न्यूजगृह
अभिनेत्री शिल्पा मास्केको बुझाइमा पात्र र कलाकार

काठमाडौं— अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् । अभिनय गरेको चलचित्रको सङ्ख्या झैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उनको चाहना छ । त्यसैले उनी छनौटमा विशेष ध्यान दिन्छिन् । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा छिन् ।

यसमा उनले रेडियोकर्मीको भूमिका निर्वाह गरेकी छिन् । ‘मेरो पात्रको नाम आव्या हो । उनले आत्मनिर्भर हुँदा पनि परिवारको रोजाइमा विवाह गरेकी हुन्,’ उनले पात्रको बारेमा जानकारी दिइन् । सुरज पाण्डेको पहिलो निर्देशकीय चलचित्रमा अभिनेत्री मास्के ‘बोल्ड’ देखिएकी छिन् । उनलाई यो भूमिकामा प्रस्ताव आउँदा डर पनि लागेको थियो । 

‘किनकि हामी कहाँ बोल्ड दृश्यको चर्चा धेरै हुन्छ । मैले उक्त पात्रलाई निर्वाह गरे पनि त्यो प्रश्न मलाई नै आउँछ । त्यसैले अभिनय गर्ने सहमति दिनु अगाडि धेरै सोचेकी थिएँ’, उनले भनिन् ।

उनलाई ‘बोल्ड दृश्य दिएको ?’ भन्ने पनि छन् तर अभिनेत्री मास्के पर्दामा देखिएकी आफू नभई ‘आव्या’ रहेको बताउँछिन् । उनी चलचित्रमा वैवाहिक जीवनबाट दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिँदै छिन् ।

अविवाहित भएकाले पात्रलाई जीवन्त बनाउन उनले केही अनुसन्धान पनि गरिन् । विवाहित महिला अन्यप्रति आकर्षित हुनुको कारण बुझेर मात्र चलचित्रको पात्रलाई प्रस्तुत गर्न मानसिकरूपमा उनी तयार भएको बताइन् ।

maskey1687360933.jpg

‘चचित्रमा हाम्रो समाजको एउटा पाटोलाई देखाइएको छ । यो कथालाई पर्दामा ल्याउँदा केही बोल्ड दृश्य पनि छन्, तर ती कलात्मक शैलीमा छायाङ्कन गरिएको छ’,अभिनेत्री मास्केले भनिन्,‘यो भूमिकालाई निर्वाह गर्ने सहमति दिनुमा निर्माण टिम पनि कारक छ । किनकि निर्माण समूहसँग विश्वास भएन भने ती दृश्य अस्वाभाविक र अपाच्य लाग्न सक्छ तर, मलाई टिमसँग विश्वास थियो ।’

उनले पात्रका विषयमा छायाङ्कनअगावै गरिने कार्यशालामा पूर्णरूपमा स्पष्ट भएको बताइन् । उनले निर्माण समूहसँग काम गर्नुमा ‘पशुपति प्रसाद’ जस्ता चलचित्र निर्देशन गरेका दीपेन्द्रकुमार खनालद्वारा लिखित कथा रहेको कारण बताइन् ।

‘निर्देशक खनालसँग काम गर्ने इच्छा थियो । समाजकै घटनालाई काल्पनिक पात्रमार्फत प्रस्तुत गर्न किन हिच्किचाउने भनेर आफैँलाई सम्झाएर आव्या बन्न तयार भएँ’, अभिनेत्री मास्केले भनिन् ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २१:०१
Weather Update