News Griha :: न्यूजगृह
कुशलको दुर्भाग्य : एक दिवसीयमा दोस्रो शतक बनाउने कीर्तिमान १ रनले खोसियो

काठमाडौं— कुनै पनि ब्याट्सम्यानका लागि शतकको महत्व कति हुन्छ यो उनलाई मात्र होइन, सामान्य क्रिकेटप्रेमीलाई पनि उत्तिकै हुन्छ ।

त्यसमाथि पनि एक रनले शतक बनाउन चुक्दा धेरैले ईश्वर निर्दयी बनेको भन्दै शतकबाट चुकेको खेलाडीप्रति सहानुभूति प्रकट गर्छन । हुन त यहाँ शतक बनाउन नदिने बलरको बहादुरीको पनि तारिफ हुनुपर्ने हो । तर यस मामिलामा क्रिकेट जहिले पनि ब्याट्सम्यानहरूको पक्षमा नै उभिदै आएको छ ।

नेपाल ठूलो उत्साह बोकेर अहिले एक दिवसीय विश्वकप क्रिकेटको छनोटका लागि जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले आज पहिलो खेल घरेलु टोली जिम्बाबे विरुद्ध खेलिरहेको छ ।

शानदार सुरुवात गरेको नेपालले पहिलो विकेट  गुमाउँदा त्यो विकेट दुर्भाग्य कुशल भुर्तेलको नाममा रह्यो । त्यसमाथि भुर्तेल ९५ बल खेलेर ९९ रनमा आउट हुनु धेरैले ईश्वर निर्दयी भएको टिप्पणी गरेका छन् ।

योसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट चुकेका छन् । जिम्बावेविरुद्ध हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा नेपालले कुशललाई ९९ रनमा गुमाउँदा, १ सय ७१ रन जोड्दा पहिलो विकेट खसेको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी पनि बनेको छ ।

कुशलले ९५ बलको सामना गरी १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । जिम्बाबेका बेलिङटन मासाकाद्जाको हातबाट बोल्ड भएका कुशलले यसअघि नामिबियाविरुद्ध विश्वकप लिग- २ मा १ सय १५ रन बनाएका थिए ।

नेपाल अहिले घरेलु टोली जिम्बावेविरुद्ध ३६ ओभरको खेल चलिरहँदा २ विकेटको खर्चमा १ सय ८७ रन बनाएर खेलिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:१६
Weather Update