
काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सचेतक बर्तौलाले किसानहरूलाई आफ्ना अनाजहरूको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
उनले भने, ‘हाम्रो देश नेपाल कृषि प्रदान देश हो । हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सयौँ किसानहरू काठमाडौंको कालिमाटीमा उपस्थित भएर उहाँहरूले आफूले उत्पादन गरेको हजारौं केजी टमाटरलगायत कृषि उत्पादनहरू कालिमाटी चोकमा सडकमा फ्याँकेर उहाँहरु आन्दोलन गरिरहनु भएको छ । उहाँहरूले निकै धेरै मात्रामा नेपाली किसानहरूले तरकारी उत्पादन गरिरहनु भएको छ । गोलभेँडा उत्पादन गरिरहनु भएको छ । तर आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य उहाँहरूले पाउन सक्नु भएको छैन । गोलभेँडा आज मूल्य नपाएर सडकमा यसरी फ्याँक्नु परेको छ । म नेपाल सरकारलाई कृषि मन्त्रीज्यूलाई सम्माननीय सभामुख महोदयमार्फत् म आग्रह गर्न चाहन्छु–ध्यानाकर्षण गराउन चाहन्छु कि किसानहरूका यी तमाम समस्यालाई दिगो रुपमा समाधान गर्नका लागि क्षतिपूर्तिको व्यवस्था गरियोस् । आवश्यक अनुदानको व्यवस्था गरियोस् । म यो माग गर्न चाहन्छु, ध्यानाकर्षण गराउन चाहन्छु ।’
सचेतक बर्तौलाले मूल्य नपाएर किसानहरूले आफ्नो उत्पादन सडकमा फ्याँक्नुपर्ने अवस्था आउन नदिनेगरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताए ।