News Griha :: न्यूजगृह
इमर्जिङ टिम्स एसिया कप : भारत सँगको खेल वर्षाले रद्द हुँदा नेपाललाई मौका

काठमाडौं—  हङकङमा जारी एसीसी महिला टी-ट्वान्टीइमर्जिङटिम्स एसिया कप प्रतियोगितामा नेपालले सेमिफाइनलमा उत्रने सम्भावनालाई जीवित राखेको छ । 

बिहीबारका लागि निर्धारित नेपाल र भारतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपालको लागि यो सम्भावना कायम रहेको हो ।  वर्षाको कारण भारतको ‘ए’ टोलीसँगको खेल रद्द भएपछि नेपालले एक अङ्क बटुलेको छ ।

यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तान ’ए’ सँग झिनो ९ रनले पराजित भएको थियो । ८७ रनमा अलआउट गरेको पाकिस्तानसँग नेपाल जबाफी ब्याटिङमा २० ओभरमा ७८ रनमात्र जोड्न सकेको थियो । नेपाली टोली दुई खेलबाट एक अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहँदा बिहीबार नै पाकिस्तान र हङकङबीचको खेल पनि वर्षाका कारण बिथोलिएको छ ।

समूह ‘ए’ रहेको भारत दुई खेलबाट तीन अङ्क जोड्दै पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको पाकिस्तानले पनि दुई खेलबाट तीन अङ्क नै जोडेको छ । घरेलु टोली हङकङ दुई खेलबाट एक अङ्कका तालिकाको चौथो स्थानमा छ । अब नेपालले यस समूहको खेलमा हङकङलाई हराए सेमिफाइनमा उत्रन सक्ने सम्भावना प्रबल छ ।

प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता सहभागी हुन असमर्थता जनाएपछि नेपालले पहिलो पटक सहभागिताको अवसर पाएको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेका बंगलादेश तीन अङ्कसहित पहिलो स्थानमा रहँदा श्रीलंका समान अङ्कका दोस्रो, संयुक्त अरब इमिरेट्स यूएई दुई अङ्कका साथ  तेस्रो र अंकविहीन मलेसिया चौथो स्थानमा छन् ।

नेपालले अब आफ्नो तेस्रो तथा समूहको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:५९
Weather Update