News Griha :: न्यूजगृह
सांसद तोसिमा कार्कीको प्रश्न : खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ?

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले खेलकुदका लागि भनेर विभिन्न दलका नेताहरूका नाममा खुलेका प्रतिष्ठानहरूलाई अनावश्यक अनुदान दिइएको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले दलका नेताको नाममा राजनीतिक आबद्धता बढाउने यस्ता खालका कार्यक्रमहरूलाई प्रोत्साहन गर्न नहुने बताइन् । 

उनले भनिन्, ‘अन्तर्राष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरूका नाममा खुलेका प्रतिष्ठानहरूलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई  ५० लाख, साहना प्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोइराला पुरुष हकीलाई ७ लाख भन्दै बाँडिएका रकमहरू उचित लेखा परीक्षण हुने गरेको छैन । र, खर्चको पारदर्शितामा हरेकपटक निरन्तर रूपमा प्रश्न उठेको छ । दलका नेताको नाममा राजनीतिक आबद्धता बढाउने यस्ता खालका कार्यक्रमहरूलाई किन र केका लागि प्रोत्साहन गरिन्छ ?’

सांसद कार्कीले युवा तथा खेलकुद मन्त्रालयको बजेटलाई हेर्दा बजेटको नाममा ठट्टा गरिरहेको जस्तो देखिएको बताइन् । 

उनले अन्तर्राष्ट्रिय जगत्मा नै ठूलो महत्व राख्ने खेलकुदप्रति सरकार किन उदासिन देखिएको भन्दै प्रश्न पनि गरेकी छन् । 

उनले भनिन्, ‘हामी बजेटको नाममा यहाँ ठट्टा गरिरहेका छौँ । युवा तथा खेलकुद मन्त्रालयको बजेटले त्यही देखाउँछ, यसको पहिलो शीर्षकले नै व्यङ्ग्य गरेको छ, १५ लाख पुँजीगत खर्च हुने मन्त्रालयको चालु खर्च ६ करोड ९ लाख छ । साँच्चै ठट्टा गरेको जस्तो छैन त ? बजेटको शीर्षक ३४, ३४ १०, ११ अन्तरगत १९औँ एसियन खेलको लागि ६ करोड ४० लाखर १४औँ दक्षिण एसियाली खेलकुदका लागि जम्मा २५ लाख सहभागिता तथा तयारी खर्च भनेर छुट्याइएको छ । अन्तर्राष्ट्रिय जगत्मा नै निकै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको छ ?’ 

सांसद कार्कीले सीमित स्रोत साधान भएपनि अन्तर्राष्ट्रिय स्तरबाट मेडल ल्याउन सफल हुने खेलाडीहरूलाई राज्यले सम्मान र प्रोत्साहन गर्नुपर्ने ठाँउमा बजेटले निराश बनाएको पनि बताइन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:४८
Weather Update