News Griha :: न्यूजगृह
महिला क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं— एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ । हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ए ९ रनले विजयी भएको हो । 

पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाइन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन बनाएको थियो । 

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाइन् । 

ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले समान २र२ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा छ । 

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, यूएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । प्रतियोगितामा हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:०१
Weather Update