
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेका नेपाल र यूएईबीच मंगलबार जिम्बावेमा वार्मअप अभ्यास खेल हुँदैछ ।
नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा ओल्ड हेनरिज क्रिकेट मैदानमा हुनेछ । जिम्बावे पुग्नु अघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको नेपालले त्यहाँ दुई खेल खेलेको थियो ।
अभ्यास खेलमा स्कटल्याण्ड र नेदरल्याण्ड्स दुवैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । दुबै खेलमा नेपाल पराजित पनि भयो । दक्षिण अफ्रिकामा नचलेको ब्याटिङ लाइन सुधार नेपालका लागि मुख्य चुनौती बन्ने छ ।
यूएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ । पछिल्ला चार खेलदेखि यूएईविरुद्ध नेपाल अपराजित छ । नेपालले दोस्रो वार्मअप खेल बिहीबार ओमानसँग खेल्ने छ ।
विश्वकप छनोटमा नेपालले असार ३ गते आयोजक जिम्बाब्वेको सामना गर्नेछ । नेपाल समूह 'ए' मा घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्ससँगै छ । समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमन र यूएई छन् ।