News Griha :: न्यूजगृह
प्युठान कार दुर्घटना : थप एकको सनाखत

काठमाडौं— प्युठानमा सोमबार अपरान्ह भएको कार दुर्घटनामा परी मृत्यु भएका थप एक जनाको सनाखत भएको छ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएको हो । यसअघि सात जना मृतकको सनाखत भएको थियो  । 

सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका- ४ भिङ्ग्रीमा निजी कार दुर्घटनामा परेको थियो ।  उक्त दुर्घटनामा ज्यान गुमाउने सबै  दाङका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास खड्काका अनुसार मृत्यु हुनेमा बालक शिशिरसहित तुलसीपुर उपमहानगरपालिका-m१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य र चालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल छन्।
डीएसपी खड्काका अनुसार शिशिर सरिताका साथीको छोरा हुन् । स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङ फर्किदा लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण खुलेको छैन । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:४२
Weather Update