
काठमाडौं— साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली सोमबार राति ८ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिलिपिन्स प्रस्थान गर्दैछ ।
भारतको बैंगलुरुमा हुने १४औँ संस्करणको साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप हुनुअघि फिलिपिन्ससँग मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली त्यहाँ जान लागेको हो । नेपालले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछ ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली फिलिपिन्सबाटै भारत प्रस्थान गर्नेछ ।
खेलाडी, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसे, हेड अफ डेलिगेसन मनिष जोशी, असिस्टेन्ट कोच प्रवेश कटुवाल, जीके कोच विनोद महर्जन, फिजियोथेरापिस्ट अविष्कार पुडासैनी, मिडिया अफिसर सरोज श्रेष्ठ, टिम अफिसियल विवेक राई र शिरिष श्रेष्ठ गरी ३२ जनाको टोली साफ च्याम्पियनसिपका लागि जाने भएका हुन् ।
साफ च्याम्पियिसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । खेलमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदै छन् । राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिदाइ गरिसकेको छ ।
साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान छन् ।
नेपाली खेलाडीहरू :
गोलकिपर : किरण चम्जोङ, दिप कार्की र विशाल श्रेष्ठ
डिफेन्डर : सिमान्त थापा, बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का र रोहित चन्द
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बू र आभास लामिछाने
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर ।