
काठमाडौं— साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई बिदाइ गरिएको हो । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, एन्फा महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् ।टोलीलाई राखेप उपाध्यक्ष शिव कोइरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे ।
बिदाइपछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टोलीबाट राम्रो नतिजाका लागि खेल्ने बताए । उनले छोटो समयको तयारीका बाबजुत पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए ।