News Griha :: न्यूजगृह
१३ वर्षीय कुञ्जल शुभेच्छु लुइँटेलको पुस्तक सार्वजनिक,कसले के भने ?

काठमाडौं— नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलद्वारा संयुक्त रूपमा आयोजित एक समारोहका बीच १३ वर्षीय बाललेखक कुञ्जल शुभेच्छु लुइँटेलको पुस्तक सार्वजनिक भएको छ ।

समारोहमा लुइँटेलको पुस्तक ‘मैले पढेका पुस्तक’ को लोकार्पण गरिएको छ । सो पुस्तक समारोहका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले गरे । सो कार्यक्रमको अध्यक्षता बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले गरेका थिए ।

कार्यक्रममा युनाइटेड स्कुलका निर्देशक कविराज वान्तवा, वरिष्ठ कवि भुवनहरि सिग्देल, समालोचक प्रा.डा.जीवेन्द्रदेव गिरी,लोकार्पित कृतिका सम्पादक विनयकुमार शर्मा नेपाल, साहित्यकार दिव्य गिरी, रामप्रसाद दाहाल, डा.विष्णु राई, प्रह्लाद पोखरेल, प्रभा भट्टराई, डा.यादेवी ढकाल, डा.सीता सुवेदी पन्थी, गङ्गा पौडेल कर्माचार्य, शिवानी घिमिरे, पुष्पलता आचार्य, नेत्र न्यौपाने, ललिता दोषी उपस्थित थिए ।

कुञ्जल शुभेच्छु लुइँटेलको मैले पढेका किताबभित्र माधवप्रसाद घिमिरेको बाला लहरी, वसन्तकुमार शर्मा नेपालको तीन तारा, गङ्गा कर्माचार्य पौडेलको नबिराउनु नडराउनु, विष्णुकुमार पौडेलका नयाँ सङ्कल्प, हात्तीको फुर्ती, शारदा अधिकारीको हराएकी छोरी, रमेश विकलको केही मूर्खहरुको कथा, महेश पौडेलको चिम्पान्जीको चिन्ता, ज्ञान उदासको नानीका कथाको किताब,जनकप्रसाद हुमागाईंको नानीको प्रगति,प्रमोद प्रधानको खैरो बकुल्लागङग कर्माचार्य पौडेलका छमछमी नाच्छु तीजमा, कागले किन काँ काँ भन्छ ? जस्ता समीक्षा समेटिएका छन् ।

त्यसैगरी किताबमा कनकमणि दीक्षितको काठमाडौं सन्धि, छायादत्त न्यौपानेको हाम्रा कुरा, रामदेव पाण्डेको घर जस्तो स्कुल मेरो,  ज्ञाननिष्ठ ज्ञवालीको सविज्ञाको कम्प्युटर, यम बास्तोलाको गायक बिरालो, शेखर श्रेष्ठको सेतो हिमालमुन्तिर, विनय कसजूको अबोलाको मोबाइल फोन,शान्ति सापकोटाको लुसीको माया, म्याक्सिम गोर्कीको हृदयको ज्योति, देबु लुइटेलको मेरो गाउँ,यशु श्रेष्ठका रुँदै कराउँदै र कता जाऔँ होला ? पनि समेटिएका छन् ।

यस कृतिमा  रामकुमार पण्डित क्षेत्रीको बुद्ध विचार, सजनी नौबागेको राजकुमारीको सपना, चन्द्रमा पौडेलको बाघको भिडिओ, दिव्यलक्ष्मी पोख्रेलको झिलिमिली जुनतारा,  प्रभा भट्टराईको पोसिला कविता, छायादत्त न्यौपानेको केरै केरा, सुरेन उप्रेतीको नेपालका शान, ललिता दोषीको दुई खुट्टे बिरालो, विजयराज आचार्यको स्वयम्भूका आँखाहरु, कार्तिकेय घिमिरेको वाहा ! दुनोट पसलेकी छोरी, कविताराम श्रेष्ठको जुजु हिरा, गीता सापकोटाको पुरस्कार, विनयकुमार शर्मा नेपालको किसान र भगवान् जस्ता कृतिमाथि लेखिएका लघुसमीक्षा समेटिएका छन् ।

समारोहमा बोल्ने क्रममा वक्ताहरूले कुञ्जलको प्रतिभाको खुलेर प्रशंसा गरे । प्रमुख अतिथि त्रिपाठीले भने,‘कुञ्जल बाल्यकालमा हामीसँगै नजिकै बसेर हुर्किएका हुन् । उनी हाम्रा आँगनमा खेल्न आइरहन्थे । हामीलाई गुरुबा गुरुआमा भन्थे । उनी त्यस बेला चञ्चल छन् आज उनी मञ्चमा शान्त भएर बसेको देख्दा खुसी लागेको छ । कोरोनाकालदेखि आजसम्म लेखेका यतिका सामग्रीको प्रकाशन देखेर झन् खुसी लागेको छ । उनलाई बधाई छ । मैले केही नमुना समीक्षा पढ्दा राम्रो लाग्यो । यहाँ माधव घिमिरेदेखि, रमेश विकल र जनकप्रसाद हुमागाईंदेखि नवपुस्तासम्मका प्रतिभाका बालसाहित्यिक कृतिको चर्चा गरिएको रहेछ । बालसुलभ समीक्षाचेत पढ्नपाएर म खुसी भएँ ।’

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका अतिथि युनाइटेड स्कुलका निर्देशक डा.कविराज वान्तवाले आफूले सबै कृति पढिसकेको भन्दै बालबालिकाको क्षमताले उचित निकास पाए गर्ने रहेछ भन्ने विशवास जागेको बताए  । उनले अगाडि थपे,‘कुञ्जलले लकडाउनदेखि आजसम्म लेखेका सामग्री देखेर मैले नै प्रकाशन गर्छु भनेको हुँ । हाम्रो विद्यालय क्षमतावान् एवम् प्रतिभावान् विद्यार्थीको कदर गर्दछ । कुञ्जललाई बधाई छ । उनका अभिभावक र उनीसँग सम्बन्ध जोडिनु हाम्रो स्कुलको पनि खुसीको कुरा हो ।’

समारोहमा सम्पादक विनय कुमार शर्मा नेपालले आफ्नो सम्पादकीय मन्तव्य प्रस्तुत गरे । उनले भने,‘बालबालिकाले कथा, कविता लेखेर छापेका उदाहरण छन् तर बालसमीक्षकको कृति र यतिका संख्यामा कृतिमाथिका समीक्षा आउनु खुसीको कुरा हो । यस कृतिले आजको नयाँ पुस्ताले बालसाहित्यलाई कसरी हेर्छ र बुझ्छ भन्ने सन्देश दिएको छ । यहाँ नेपाली बालसाहित्यका समकालीन पुस्ताका विविध पक्षको प्रतिनिधित्व छ । मैले सामग्री देख्नासाथ प्रकाशन गरिदिनुपर्छ भनेको हुँ । मैले यो कृति सम्पादन गर्ने क्रममा कुञ्जलको भाषालाई यथावत् रहन दिएको छु ।’ 

समारोहमा उपस्थित सबैलाई स्वागत गर्दे साहित्यकार डा.रमेश शुभेच्छुले कुञ्जलको शारीरिक र मानसिक विकासमा सघाउने धाइआमादेखि विद्यालयका आयादिदीदेखि, ड्राइभर, गार्डदाइदेखि सम्पूर्ण शिक्षकलाई धन्यवाद दिए । उनले बालबालिकालाई वातावरण दिए गर्ने रहेछ भनेर हामीले थाहा पाएपछि किताब पढेर लेख्ने वातावरण दिएको बताए । उनले बालसाहित्य समाज र युनाइटेड स्कुलका सदस्यका साथै समारोहमा उपस्थित सबैमा स्वागत गरे ।

सोही समारोहमा खडानन्द लुइँटेलद्वारा लिखित सम्पर्क पुस्तिकाको पनि लोकार्पण भयो । यस पुस्तिकामा लुइटेलको पाँचपुस्ते वंशावली सम्पर्कसहित रहेको छ । समारोहमा साहित्यकार गीता सापकोटाले कार्यक्रको उद्देश्य माथि प्रकाश पारेकी थिइन् भने कृतिकार कुञ्जल शुभेच्छुका पितामह सूर्यनाथ लुइँटेल र मावली बा दधिराम दाहालले स्वस्तीवाचन गरेका थिए । कुञ्जलको ब्रतबन्धको प्रीतिभोजका अवसरमा गरिएको  कार्यक्रम हुँदा त्यहाँ दीप प्रज्वलन गर्दै स्वस्तीवाचन गरिएको थियो । साहित्यकार धरणी गौतमले ब्रतबन्ध संस्कार सिकाउने कार्यक्रम भएको हुँदा यो आधुनिक संस्कार सिकाउने नमुना कार्य बनेको प्रतिक्रिया दिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:५१
Weather Update