
काठमाडौं— विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिबार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दा रेलिगेसनबाट बचेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको शहीद स्मारक 'ए' डिभिजन लिग सिजनको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बिक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । विक्रमको यो करियरको अन्तिम खेल समेत हो ।
जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेसनबाट बचाउन सफल भएका थिए ।
यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अङ्क जोड्दै नवौँ स्थानमा उक्लिएको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा परेको छ । २०६२ सालबाट ए लिग खेलिरहेको एपीएफ पहिलो पटक बी डिभिजनमा घटुवा भएको हो । उता जावलाखेलले भने हारबाट सिजनको अन्त्य गरेको छ । जावलाखेलले २६ खेलमा ३७ अङ्क जोड्यो । जाउलाखेलले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।
लिग अन्तर्गत शनिबार नै दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले १ गोलको अग्रता उल्टाएर मनाङलाई ३–१ गोल अन्तरले पराजित गर्यो । मच्छिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ती मगरले १–१ गोल गरे । मनाङका विजय श्रेष्ठले १६ औं मिनेटमा सुरुवाती अग्रता निकालेका थिए । खेलको ८० औँ मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औँ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रकोअग्रता उल्टाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए ।
यस जितसँगै लिगको उपविजेता मच्छिन्द्रले सिजनको सुखद् अन्त्य गरेको छ । मच्छिन्द्रले २६ खेलमा ४५ अङ्क जोड्यो । मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ । मनाङले २६ खेलमा ३२ अङ्क जोड्यो ।
शनिबारकै अर्को खेलमा संकटा र न्युरोड टिम एनआरटीले १–१ को बराबरी खेल्दै सिजनको अन्त्य गरेका छन् । पहिलो हाफको इन्जुरी समयमा नेल्शनकोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, खेलको ८९ औँ मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा टुङ्गिएको थियो ।
यस बराबरीसँगै संकटाले २६ खेलमा ३२ अङ्क जोडेको छ । एनआरटीले २७ खेलमा ३४ अङ्क जोड्दै सिजनको समापन गरेको छ ।