
काठमाडौं— वरिष्ठ गीतकार किरण खरेल प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मानबाट सम्मानित भएका छन् ।
गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको ८७औँ जन्मजयन्तिको अवसर पारेर शनिबार गीतकार खरेलसहित तीनजना श्रष्टालाई सम्मान गरेको हो ।
ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् कवि तुलसी दिवसले वरिष्ठ गीतकार खरेललाई एक लाख नगदसहित राष्ट्रिय संगीत सम्मान प्रदान गरे । त्यस्तै, सितार वादक उस्ताद तारा वीरसिंह तुलाधरलाई नगद ७५ हजारसहित राष्ट्रिय वाद्यवादन सम्मान तथा राष्ट्रिय युवा संगीत पुरस्कारबाट नगद ५० हजार नगदसहित गायिका मिलन नेवारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय गायक प्रधानको व्यक्तित्व र गायकीको चर्चा गरेका थिए ।
वरिष्ठ गीतकार राजेन्द्र थापाले नेपाली संगीत क्षेत्रले मात्रै नभइ विश्वले मानेका गोल्डेन भ्वाइस प्रधान राष्ट्रको अमूल्य गहना रहेको बताए ।
सो अवसरमा गायक आनन्द कार्की, मिलन नेवार, सुरज थापालगायतले स्वर्गीय प्रधानले गायका गीत प्रस्तुत गरेका थिए ।