काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा उपाधि विजेता चर्च ब्वाईज युनाईटेडले सहज जित निकालेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्समा चर्च ब्वाईजले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाईजसँग पराजित भएसँगै खुमलटार भने रेलीगेसनमा परेको छ । खुमलटार बढुवा भएकै सिजन ‘बी’ डिभिजनमा घटुवा भएको छ ।
खेलको १३औं मिनेटमा सुशील शाहले गोल गर्दै चर्च ब्वाईजलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जोसेप बेम्पाहले गोल गर्दै चर्च ब्वाईजलाई २–० को जित दिलाए ।
चर्च ब्वाईजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो । त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो ।
फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक एक गोल गरे । यस जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । एपीएफको २६ खेलमा ३० अंक रहेको छ ।
त्यस्तै शुक्रबार नै च्यासल मैदानमा पुलिसले सातदोबाटो युथ क्लबलाई १–० गोल पराजित ग र्यो । पुलिसको जितमा अहमद हिजाजीले २१ औं मिनेटमा निर्णायक गोल गरे । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । पुलिसले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । सातदोबाटोको २६ खेलमा ३५ अंक रहेको छ ।