News Griha :: न्यूजगृह
शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित

काठमाडौं- अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारका मार्टिन्सले दुवै गोल दोस्रो हाफमा गरेका थिए । मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले ८३औ मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे ।

पहिलो जितपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमै एपीएफसँग पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेण्ड्स क्लबसँग ३-३ को बराबरी खेलेको थियो ।

ए डिभिजनमा डेब्यु सिजनमै पहिलो खेल जितेको नवप्रवेशी खुमलटारको भने यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा फ्रेण्ड्सलाई हराएको खुमलटार दोस्रो खेलमा अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग ३-१ ले पराजित भएको थिए । खुमलटारको ३ खेलबाट ३ अंक छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:२०
Weather Update