News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
 देशभरका साहित्यकार दमौलीमा

तनहुँ— ‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ । यही २६ र २७ जेठमा हुने सम्मेलनमा सात वटै प्रदेशका साहित्यकारको जमघट हुने गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले जनाएको छ । 

महर्षि वेदव्यासको अवतरण भूमि, भानुभक्तको साधना भूमि र सेतीमादीको सङ्गमस्थल दमौलीलाई उजागर गर्ने हेतुले सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिए ।

Prabhu Bank

भाषा र साहित्यका माध्यमबाट यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको उनले बताए । उक्त कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण र स्मारिका लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।

२०७६ सालमा गर्न लागेको भए पनि पटक पटकको कोरोना र संघीय निर्वाचनका कारण रोकिएको कार्यक्रम अहिले आएर निरन्तरता दिन लागेको आयोजकले जनाएको छ । सम्मेलनमा पुरस्कृत हुने कवि तथा साहित्यकारलाई प्रथम पुरस्कार ५५ हजार, द्वितीयलाई ४० हजार, तृतीयलाई २५ हजार र सान्तवना छ जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

सो अवसरमा दमौलीका साहित्यकार एवम् भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद गौतमलाई १० हजार नगद तथा दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रममा देशभरबाट करिब दुई सय कवि तथा साहित्यकारको जमघट हुने बताइएको छ ।

प्रतिष्ठानकी उपाध्यक्ष गौमाया न्यौपानेले भाषा, संस्कृति र पर्यटन विकासमा आधारित दोस्रो राष्ट्रिय साहित्य सम्मेलन यस क्षेत्रको कला, साहित्य, पर्यटन र संस्कृतिको उजगार गर्न कोसेढुंगा सावित हुने बताइन् । उक्त कार्यक्रम सम्पन्न गर्न ११ लाख ३९ हजार लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा आउने पुरस्कृत व्यक्तित्व र अतिथिका लागि खाना बस्नको व्यवस्था आयोजकले मिलाएको सो अवसरमा जानकारी गराइएको थियो ।

साहित्य सम्मेलनले जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको प्रतिष्ठानका अर्का उपाध्यक्ष सङ्गम सापकोटाले जानकारी दिए । गीतकार एवम् साहित्यकार रमेश पौडेलको संयोजकत्वमा प्रतियोगिताको निर्णायक मण्डलमा श्रवण मुकारुङ, भूपिन खड्का लगायतका व्यक्तित्व रहेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २१:१७
sagarmatha cementsagarmatha cement
Weather Update