News Griha :: न्यूजगृह
‘कडी’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गर्दै नेत्र गुरुङ

काठमाडौं— करिब एक दशकपछि नेत्र गुरुङले निर्देशनमा पुनरागमन गरेका छन् । पोखराका चर्चित फिल्म निर्देशक गुरुङले ‘कडी’ नामक फिल्मका छायाङ्कन सुरु गरेका हुन् । 

दशकअघि ‘नाईके’ फिल्मबाट फिल्मवृत्तमा चर्चा कमाएका गुरुङले यो बीचमा पटकपटक फिल्म निर्देशन गर्ने चर्चा भएपनि नयाँ प्रोजेक्ट सुरु गर्न सकेका थिएनन् । ‘यो बीचमा मैले आफैँलाई प्राविधिक रूपमा अपडेट गर्नतर्फ लागेँ । र, गरिहालौँ जस्तो कथा पनि भेटिइरहेको थिएन । त्यसैले केही समय मौन बसेजस्तो देखिएको हो । यद्यपि, फिल्म क्षेत्रभन्दा टाढा भने म कहिल्यै पनि थिइन,’ फिल्मको शुभमुहूर्तको क्रममा गुरुङले भने । 

netra gurung1686041990.jpg

फिल्म ‘कडी’ आफूले सोचेअनुरूपको कथा भएकोले यो पटक फ्लोरमा आएको उनले बताए । ‘म यो बीचमा गज्जबको कथाको खोजीमा थिएँ । र, कडी मैले खोजेजस्तै कथा हो । यो फिल्मले मेरो पुनरागमनलाई सार्थक बनाउनेछ,’ उनले भने । 

नेत्र इन्टरटेन्मेन्ट र सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको ‘कडी’को सम्पूर्ण छायाङ्कन पोखरामै हुने उनले जानकारी दिएका छन् । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बद्रिप्रसाद तिवारी, सोफि धरेल, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, अर्जुन खड्का लगायतका कलाकारहरूको अभिनय रहने निर्माण कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:४५
Weather Update