
बाग्लुङ— क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृहजिल्ला बाग्लुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बाग्लुङ नगरपालिकाले राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गरेको हो ।
नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने करणलाई रु एक लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सुवासलाई रु ५० हजार नगदसहित सम्मान गरिएको बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।
करण बाग्लुङ नगरपालिका–८ सिगानाका हुन् भने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् । बाग्लुङमा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको खड्काले बताए ।
उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर तथा अलराउण्डर हुन् भने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।