News Griha :: न्यूजगृह
सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा

इटहरी— राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाई३–१ गोल अन्तरले हराएर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधि नजिक पुर्‍याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक/एक गोल गर्न सफल भए ।

सगरमाथाका खेलाडी लोप्चनले खेलको चौथो, स्टेफिनले १२औँ र मेसुकेले ५१औँ मिनेटमा गोल गरेका थिए । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए ।

आज बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

सगरमाथाले अन्तिम सेमिफाइनल विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख हात पार्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०६:४२
Weather Update