News Griha :: न्यूजगृह
आज ५ बजेदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल

काठमाडौं— आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले विजय हुने दाबी गरे । एन्फाले गत साता मात्र इटालीका अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिममा पनि नयाँनयाँ खेलाडी मिलाउनु परेकाले चुनौती महसुस गरिएको छ ।

नेपाली टोलीमा गोलकिपर अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ, रक्षक पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ छन् ।  मिडफिल्डर सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा छन् भने स्ट्राइकर दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी छन् । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०७:०९
Weather Update