News Griha :: न्यूजगृह
उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो, एपीएफसँग जावलाखेल पराजित

काठमाडौं— उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ ।

त्यस्तै, अर्को खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । 

शहीद स्मारक ए डिभजिन लिगको खेलहरूमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको सुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो । 

‘ए’ डिभिजन लिगमा साबिक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौँ स्थानमा झरेको छ । मच्छिन्द्र समान खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्मका बनेको खेलमा १७औँ मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले सुरुवाती अग्रता लिएको थियो । तर, ६०औँ मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो । आर्मी लिगमा मच्छिन्द्रविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो ।

लिगअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबले जावलाखेल युथ क्लबमाथि २–० को सहज जित निकालेको हो । जितसँगै २२ खेलमा २९ अंक जोडेको छ । एपीएफ छैटौँ स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको जावलाखेल समान खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा कायम छ । 

jawalakhel-vs-apf1685191166.jpg

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक/एक गोल गरे । सुरुआत बाट जावलाखेलविरुद्ध आक्रामक खेल देखाएको एपीएफले खेलको २३औँ मिनेटमा बिडोमको गोलमार्फत अग्रता लिएको थियो । बिडोमले शरन विक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । 

बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन । ८६औँ मिनेटमा एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए । मैदानभित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपीएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए ।

यससँगै एपीएफ लिगमा जावलाखेलविरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:२४
Weather Update