
काठमाडौं— शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् ।
दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आठौं जितको खोजीमा रहेको पुलिस २० खेलमा २५ अङ्क जोडेर १० औं स्थानमा छ । खुमलटार सातौँ जितको खोजीमा हुनेछ । खुमलटार २० खेलमा २१ अङ्क जोडेर तालिकाको पुछारमा छ । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
सातौँ जितको योजनामा रहेको हिमालयन २० खेलमा २६ अङ्क जोडेर आठौं स्थानमा छ भने २० खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको थ्री स्टार सातौँ जितको योजनामा छ ।