ए डिभिजनमा मनाङ र चर्च ब्वाइजले बराबरी खेले, अर्को खेलमा फ्रेन्ड्स विजयी
काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन् ।
बिहीबार ललितपुरस्थित च्यासल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहीत बराबरी खेलेका हुन् ।
खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसँगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान खेल खेलेको मनाङको २५ अंक रहेको छ ।
त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे । जितसँगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । सातदोबाटोको २१ खेलमा २९ अंक रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १८:०३