News Griha :: न्यूजगृह
चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबारीमा रोकिए

काठमाडौं— सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दुरी बढाउने मौका गुमाएको छ । 

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग दुरी बढाउने मौका गुमाएको हो । 

शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साबिक विजेता मच्छिन्द्र क्लबको भन्दा २ अंक बढी हो । 

दोस्रो स्थानको मच्छिन्द्रले बुधबार तेस्रो स्थानको जावलाखेल युथ क्लवविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११औँ स्थानमा छ । लगातार जितविहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

लिगअन्तर्गत बिहीबार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले हराएको हो । 

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक÷एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । 

खेलको ५५औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका थिए । खेलको ८७औँ मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९०औँ मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–० को जित निश्चित गरे । 

यससँगै फ्रेन्ड्सले जारी लिगमा छैटौँ जित निकालेको छ । फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेन्ड्स १२औँ स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमो छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:००
Weather Update